जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा छौ: प्रधानामन्त्री प्रचण्ड

३ आश्विन २०८०, बुधबार ११:२९

काठमाडौं, ३ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी रुपान्तरणकारी अभियानमा सरकार लागेको उल्लेख गरेका छन् ।

बुधबार संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइ हरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।

उनले सरकारले संविधान कार्यान्वयन मार्फत् सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको सन्देशमा भनेका छन् ।

उनले भनेका छन, ‘यति बेला हामी संविधान कार्यान्वयन मार्फत् जनताको जीवन स्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा छौं।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र लाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको छ।

संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माण देखि भएका कानुनको परिपालना मार्फत् जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो। ’

त्यस्तै प्रचण्डले संविधानले नागरिक तथा राजनीतिक मात्र नभएर आर्थिक, सामाजिक, साँस्कृतिक हक अधिकारलाई पनि सुनिश्चित गरेको भन्दै लोकतन्त्रको अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका सरकारले बाटो खोलेको बताएका छन ।

जारी सन्देशमा भनिएको छ, ‘संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त गरेको छ।

संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, साँस्कृतिक हक अधिकार पनि सुनिश्चित गरेको छ ।’