काठमाडौं, २ असोज– शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीले बजेट विनियोजनले सङ्घीयतालाई बलियो बनाउन नसकेको बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोह कार्यक्रममा उनले राज्यले पिछडिएका वर्गहरूलाई अनुकूल हुनेगरी बजेट निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘शिक्षा सम्बन्धी विकास हुनको लागि पिछडिएका वर्ग हरूलाई अनुकूल हुनेगरी प्रकृयाहरू अगाडि बढाउनुपर्छ । निश्चित रूपले उहाँहरूले पनि राज्यमा समानुपातिक साझेदारी पाउनुपर्छ ।
त्यसका लागि शिक्षा मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सङ्घीयतालाई मजबुत बनाउन शिक्षाको महत्वपर्ण भूमिका रहन्छ ।
शिक्षा मन्त्रालयअन्तर्गतको बजेट विनियोजनले सङ्घीयतालाई मजबुत बनाउन सक्दैन ।’बजेट विनियोजनमा संविधान संशोधन हुन आवश्यक भएको उनको भनाइ छ ।
मन्त्री कुमारीले शिक्षा मन्त्रालयले पिछडिएका वर्गको हकमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
