एजेन्सी– भारत र क्यानडा बीचको सम्बन्धमा थप तनाव बढेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् ।
भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ । निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई ध्यानमा राख्दै क्यानडाले भारतका शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।
केही दिनअघि मात्र ट्रुडो जी–२० सम्मेलनमा सहभागी हुन भारत आएका थिए । यस भ्रमणका क्रममा ट्रुडोसँगको भेटमा प्रधानमन्त्री मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञ माथि आक्रमणको मुद्दा उठाएका थिए ।
ट्रुडो स्वदेश फर्केको केही समयपछि क्यानाडाका वाणिज्यमन्त्री मेरी एनजीका प्रवक्ताले शुक्रबार भनेका थिए – क्यानडाले भारतसँगको द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा वार्ता रोकेको छ ।
भारतको प्रतिक्रिया
भारतको विदेश मन्त्रालयले क्यानडाका प्रधानमन्त्रीको आरोपलाई अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडाका प्रधानमन्त्रीले संसद्मा जे भने पनि हामी अस्वीकार गर्छौं ।
हामी क्यानाडाली विदेशमन्त्रीको भनाइलाई पनि अस्वीकार गर्छौं । क्यानडामा हुने कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद र राजनीतिक रूपमा प्रेरित हो ।’
त्यसैगरी भारीय विदेशमन्त्रालयले भनेको छ, ‘क्यानडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीमाथि आरोप लगाएका थिए र त्यसलाई पनि हामीले पूर्ण रूपमा अस्वीकार गरेका थियौं ।
हामी विधिको शासन सम्बन्धी लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध छौं ।’ भारतीय विदेश मन्त्रालयले थप भनेकोछ, ‘यस्ता आधारहीन आरोपहरू खलिस्तानी आतंकवादी र चरमपन्थीहरूबाट ध्यान हटाउनको लागि हो ।
क्यानडाले त्यस्ता खालिस्तानी आतंककारी र अतिवादीहरूलाई शरण दिएको छ, जो भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन् ।’
‘यी मामिलामा क्यानाडा सरकारको कारबाहीको अभाव लामो समयदेखि भइरहेको छ र हाम्रो लागि चिन्ताको विषय बनेको छ ।
क्यानाडाली नेताहरूले त्यस्ता तत्वहरूसँग खुलेर सहानुभूति देखाउँछन् र यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो,’ भारतले भनेको छ ।
भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडामा हत्या, मानव बेचबिखन र संगठित अपराधजस्ता गतिविधिलाई फस्टाउन दिनु कुनै नयाँ कुरा होइन ।
हामी त्यस्ता गतिविधिमा भारत सरकारलाई संलग्न गराउने कुनै पनि प्रयासलाई अस्वीकार गर्छौं । हामी क्यानडा सरकारलाई क्यानडाको माटोबाट सञ्चालित भारत विरोधी गतिविधिहरू विरुद्ध तुरुन्त र प्रभावकारी कानुनी कारबाही गर्न आग्रह गर्दछौं ।’
