काठमाडौँ, १ असोज– प्रतिनिधि सभाका सभामुख देवराज धिमिरेले प्रतिनिधि सभाको अघिल्लो कार्यकाल पूर्णतः सञ्चालन हुन नसकेको बताएका छन् ।
उनले यसको असर संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा परेको बताएका छन । उनले भने, ‘कानुन बनाउने थलो कहिले विघटन भयो, कहिले पुनःस्थापित भयो ।
यसले गर्दा केही अलमल र ढिलाइ भयो,’ राष्ट्रिय सभाचार समितिसँगको अन्तरर्वार्तामा सभामुख घिमिरेले भनेका छन्, ‘अहिलेको सदनमा आवश्यक कानुन ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने हुन्छ ।
संसद, समितिहरू र संसद सचिवालय आवश्यक सहजीकरण गर्न तयार छ ।’ सभामुख घिमिरे प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा कानुन बनाउने वातावरण संसदमा बन्न नसकेको बताएका छन ।
उनले भनेका छन, ‘गत कार्यकालको संसद् पूर्णतः सञ्चालन हुन सकेन । त्यहाँ तानातान र हानाहानको स्थिति भयो । विरोध र बहिष्कारको स्थिति भयो ।
जरुरी कानुन बनाउने र बहस छलफल गर्ने काममा सोचेजस्तो सफलता हासिल भएन । राजनीतिक अस्थिरता भयो ।’
