काठमाडौं, १ असोज– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले हरितालिका तीज २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनी हरुलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
आज (सोमबार) शुभकामना सन्देश जारी गर्दै उनले तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रुपमा समेत विकास हुँदै गएको बताए ।
उनले भने, ‘तीज बालीनाली रोपिसके पछि फुर्सदको समयमा मनाइने पर्व हो । तर, यस पर्वको धार्मिक–साँस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्त्वपूर्ण रहेको छ ।
लैंगिक तथा पारिवारिक विभेदहरुलाई तीजका अवसरमा विभिन्न माध्यम द्वारा सार्वजनिक गर्ने चलन रहेको थियो । तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रुपमा समेत विकास हुँदै गएको छ ।’
उनले भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको र सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन रहेको बताएका छन् ।
तीज हिन्दूहरुको मौलिक संस्कृतिमा आधारित पर्व हो । हाम्रा मौलिक पर्वहरुलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समयक्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी रहेको उनको भनाई छ ।
