काठमाडौं, २९ भदौ– राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यमन्त्री मोहन बस्नेत देखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
आज (शुक्रबार) आयोगले विज्ञप्ति सार्वजनिक गर्दै मेयर शाहले सामाजिक सञ्जालमार्पत् सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको र मन्त्री बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।
आयोगको विज्ञप्तिमा लेखिएको छ,‘काठमाडौँका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्पmत सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनेको, ताप्लेजुङमा कोशी प्रदेशसभा सदस्य खगेन सिं हाङ्गामले सुरक्षा निकायका प्रमुखलाई सार्वजनिक स्थलबाटै धम्की दिएको पाइएको छ ।
नेपालको संविधान र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानून हरुले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरुको मर्यादामा आँच आउने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन ।
’त्यस्तै आयोगले नेपाली काङ्ग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा सांघातिक आक्रमण जस्ता अन्य घट्नाहरुले शान्ति सुरक्षामा समेत आँच पुग्न गई राज्य संयन्त्रप्रति नै अविश्वास पैदा हुने संभावना भएकाले छानबीन गरि कारवाहीको लागि माग गरेको छ ।
विज्ञप्तिमा आयोगले भनेको छ, ‘ काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा सांघातिक आक्रमण भएको, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुर्व्यवहार भएको, चिकित्सक हरुमाथि कुटपिट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजिनामा दिएको जस्ता घटनाहरु आयोगको जानकारीमा आएका छन् ।
यस प्रकारका आपराधिक र अराजक गतिविधिले अराजकतालाई प्रश्रय दिने र शान्ति सुरक्षामा समेत आँच पुग्न गई राज्य संयन्त्रप्रति नै अविश्वास पैदा हुने सम्भावना रहन्छ ।
’ कानूनको शासन र मानव अधिकारको प्रत्याभूतिका लागि यस प्रकारका गतिविधि र घटनामा संलग्न आरोपित लाई कानून बमोजिम कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न, गराउन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
