प्रधानमन्त्रीले भने, ‘जित हेर्न म होङझोउमा तपाईंहरुको साथमा हुनेछु’

२८ भाद्र २०८०, बिहीबार १८:५२

काठमाडौं, २८ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औं एसियन गेम्स खेल्न चीनको होङझोउ जान लागेका खेलाडी टोली र प्रतिनिधिमण्डललाई बधाई र शुभकामना सहित बिदाई गरेका छन् ।

एसियाड समेत भनिने १९औँ एसियन गेम्समा सहभागी हुने टोलीलाई बिहीबार शुभकामना दिदै उनले खेलाडीलाई हौसला दिन आफू चीनमा खेल हेर्न जाने समेत बताएका छन ।

उनले भने, ‘सरकार हमेसा तपाईंहरुको साथमा रहेको जानकारी गराउँदै उच्च मनोवल र दृढताको साथ प्रतियोगितामा सहभागी हुन र जित्नको निम्ति म विशेष रुपले अपिल गर्न चाहन्छु ।

जित हेर्न होङझोउमा म पनि तपाईंहरुको साथमा हुने छु ।’ उनले एसियाडमा सहभागी हुने खेलाडीलाई उच्च मनोवलका साथ प्रतियोगितामा सहभागी हुन र प्रशिक्षक र व्यवस्थापक लाई पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नलाई आग्रह गरका छन ।

क्रिकेट, महिला र पुरुष भलिवल, इ–स्पोर्टस्, व्याटमिन्टन, सुटिङ, टेनिस, एथ्लेटिक्स, बक्सिङ, बास्केटबल लगायत विभिन्न २९ वटा खेलका खेलाडीहरु एसियाडमा सहभागी हुँदै छन् ।