खेलाडीहरुको पुरस्कार रकम भोलि निकासा हुन्छः प्रधानमन्त्री प्रचण्ड

२८ भाद्र २०८०, बिहीबार १८:३८

काठमाडौं, २८ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुका लागि घोषणा गरिएको पुरस्कार निकासा गर्ने बताएका छन् ।

आज (बिहीबार) चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पुरस्कारको रकम अर्थ मन्त्रालयबाट स्वीकृत भई आजैमात्र खेलकुद मन्त्रालयमा पुगेको र भोलिको क्याबिनेटबाट सबै पैसा निकासा गर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले यस अघि घोषणा भएको पुरस्कार केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त समेत गरे ।

उनले भने, ‘यसअघि घोषणा भएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्ने कुरा जानकारी छ । केही प्राविधिक, केही नीति गत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु ।

मैले नै घोषणा गरेको पुरस्कार नियमावलीको अभावका कारण निकासामा ढिला भएको थियो अहिले त्यो बनेको छ । अर्थ मन्त्रालयबाट स्वीकृत भई आजै मात्र खेलकुद मन्त्रालयमा पुगेको छ ।

भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।’ उनले प्रधानमन्त्रीले घोषणा गरिसकेको कुरा हुँदैन कि भनेर चिन्ता नलिन खेलाडीहरुलाई आग्रह गरे ।