काठमाडौं, २८ भदौ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन् ।
आज बिहिबार काठमाडौंमा आयोजित संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को प्रथम परिषद् बैठकमा उनले प्रतिनीधिहरूको सरसल्लाह र सहकार्य बाट धेरै काम गर्न सकिने बताए ।
उनले भने, ‘प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिँदैन । हामी प्रतिनीधिहरूले नै सल्लाह र सहकार्य गरेर गर्न सक्छौं ।
बजेटको सन्दर्भमा पनि यो प्राधिरकण नभएर धेरै वटा प्रोजेक्ट हरू आएका छन्, जसलाई हामीले लिन सकिरहेका छैनौं ।’ उनले प्राविधिक रूपमा के के गर्न सकिन्छ भन्ने कुरा आगामी बैठकमा ल्याउने गरी प्रस्ताव पेश गरेका छन् ।
मेयर शाहले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्ले लिएको नीति हरूलाई सरकारले बिकेन्द्रिकृत गर्न खोजेको तर त्यो सबै पालिकाले गर्न सक्ने बताएका छन् ।
