मेयर बालेन शाह टाइम म्यागजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा

२७ भाद्र २०८०, बुधबार २३:१९

प्रतिष्ठित टाइम म्यागजिनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई यसवर्षका सय उदयीमान प्रभावशाली व्यक्तिको सूचीमा छनोट गरेको छ । म्यागजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ ।

सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ ।

सहरका गैरकानूनी संरचना भत्काएर आफ्ना प्रतिबद्धताको कार्यान्वयनमा बालेन अघि बढेको भन्दै म्यागजिनले प्रशंसा समेत गरेको छ । ‘शक्तिमा पुगेदेखि शाहले ल्यान्डफिल साइट प्रयोग गर्न अधिकारीसँग सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै, कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने घोषणा पनि गरेका छन्’ टाइम म्यागजिनका लागि आस्था राजवंशीले लेखेकी छन् ।

‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको उल्लेख गर्दै म्यागजिनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको जनाइएको छ । ‘गत वसन्तको स्थानीय चुनावमा यी स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञमाथि विजय हासिल गरे’ म्यागजिनले लेखेको छ ।