उत्तर कोरियाली नेता उन र रुसी राष्ट्रपती पुटिनबीच भेटवार्ता

२७ भाद्र २०८०, बुधबार १५:२१

काठमाडौ, २७ भदौ– उत्तर कोरियाली नेता किम जोन उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेटवार्ता भएको छ । उनीबीच भेटवार्ता भएको तस्वीर बुधबार सार्वजनिक भएको छ ।

सन् २०१६ मा रुसले बनाएको अन्तरिक्ष केन्द्र बास्तोचनी कोस्मोड्रोममा उनीहरुले भेटवार्ता गरेका हुन् । पुटिनले उनलाई अन्तरिक्ष केन्द्रको अवलोकन भ्रमण गराएको तस्वीरमा देख्न सकिन्छ ।

आफ्नो भूउपग्रह निर्माणमा लागेको उत्तर कोरियाका नेता उनले चासो पूर्वक केन्द्रको अवलोकन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तरिक्ष केन्द्रमा नै आफूहरुको भेटघाट हुनुको कारण खोतल्दै पुटिनले भनेका छन्, ‘किम जोन उनलाई रकेट इन्जिनियरिङका बारेमा रुची रहेकाले हामीले यहाँ भेटवार्ता गरेका हौं ।’

आफ्ना देशका वरिष्ठ अधिकारीहरुसहित भेटवार्तामा बसेका दुई नेताले एक अर्काले गरिरहेका काम कारबाहीको समर्थन गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन । उत्तर कोरियाली नेता किम विशेष रेल चढेर रुस पुगेका हुन् ।