काठमाडौ, २५ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मिसन समाजवाद लिएर आफूहरू अगाडि बढेको बताएका छन ।
आज (सोमबार) समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देशसभामा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन ।
उनले सकारात्मक सन्देश दिँदै जनतामा आशा र आत्मविश्वास दिनुपर्ने बताएका छन । उनले दोषलाई अन्त मोडेर नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले चलाएका अहिलेका काम राम्रा भएको बताएका छन ।
उनले नागरिकता वितरण, मिटरब्याज विरूद्दको कानुन निर्माण, सुशासनको पक्षमा काम भएको बताएका छन । उनले व्यवस्थाका अनेक त्रुटीलाई सच्याएर अगाडि बढ्न नसके जनतामा सकारात्मक उर्जा प्राप्त हुन नसक्ने बताएका छन ।
उनले अहिले सम्म समाजवादी मोर्चाले गरेका अन्य ६ वटै सभा सफल भएको बताएका छन । समाजवादबाटै असमानताको अन्त्य गर्ने र न्याय दिने बताउँदै उनले जिल्ला, पालिका र प्रदेशस्तरमा पनि मोर्चा बनाउने बताए ।
नेपालले सरकार र सदनको मोर्चामा रहेर जनताको आवाज उठाउने बताएका छन । भ्रष्टाचारमा डुबेका, अपराधमा संलग्न रहेकाहरूलाई मोर्चाले अस्वीकार गर्नेपनि उनले बताएका छन ।
उनले नेपालको र विश्वकै परिस्थिति जटिल रहेको बताउँदै नेपालले यस्तो बेलामा राष्ट्रिय स्वाधिनताको रक्षा महत्त्वपूर्ण हुने बताएका हुन ।
मोर्चा बनेको विषयमा विभिन्न प्रश्न उठाउनेलाई जवाफ दिँदै नेपालले ७ साल, ४६ र ६२ सालमा पनि मोर्चा बनाएरै आन्दोलन गरेको नबिर्सन सुझाव दिएका छन ।
उनले दलाल पूँजीवाद नेपाली राजनीति र अर्थतन्त्रमा पर्ने होकि भनेर लडाइ सुरू गर्नुपर्ने बताएका छन । उनले सरकार जोगाउनका लागि मोर्चा निर्माण नभएको बताउँदै गठबन्धन सरकारले भने राम्रो काम गरिरहेको बताएका छन ।
उनले मोर्चा बनेपछि कतिपयले चिटचिट पसिना काडेर हिँडिरहेको बताउँदै आफूहरू एकता र मेलमिलापको पक्षमा रहेको र समाजवादमा जानका लागि मोर्चा बनाएको बताएका छन ।
