काठमाडौ, २५ भदौ– प्रमुख प्रतिपक्षी दल एमाले महासचिव शंकर पोखरेल यतिबेला चिन भ्रमणको क्रममा रहेका छन । आज सोमबार महासचिव पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको छ ।
दुई नेताबीचको भेटवार्तामा महासचिव पोखरेलले १८१६ को सुगौली सन्धीको मर्मअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको जानकारी गराएका छन् ।
चुच्चे नक्साका कारण दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको भन्दै पोखरेलले जारी नक्साका सन्दर्भमा सोही अनुसार आफुहरुले चीनको पनि साथ चाहेको बताएका छन ।
उनले भनेका छन, ‘हामी चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्छौ, ।
त्यसक्रममा महासचिव पोखरेलले एमाले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको समेत जानकारी गराएका थिए ।
त्यसक्रममा उनले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिन् पिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको समेत जानकारी गराएका छन् ।
जवाफमा विदेश विभाग प्रमुख लिउ जियनचाआले एक चीन नीतिमा दृढ रहेकोमा एमालेलाई धन्यवाद दिएका छन् । ‘ एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ ।
यसलाई हामी नयाँ उचाईमा लैजान चाहन्छौं’, लिउको भनाइ छ । त्यसक्रममा लिउले चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि रहेको भन्दै अध्यक्ष ओली र सीबीच भएका सहमति सहमति कार्यान्वयन होस् भन्नेमा आफुहरु दृढ रहेको जानकारी गराएका छन ।
‘ती सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ’, लिउको भनाइ उधृत गर्दै महासचिव पोखरेलसँगै चीन भ्रमणमा रहेका एमाले निकट पत्रकार राशेज राईले जानकारी दिएका छन ।
