कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य मसँग मात्र छ: शशांक कोइराला

२४ भाद्र २०८०, आईतवार १२:२६


काठमाडौ,२४ भदौ– कांग्रेस नेता डा. शशांक कोइरालाले कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य कांग्रेस भित्र आफूसँग मात्र भएको दाबी गरेका छन ।

उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने पनि बताएका छन । आज आइतबार नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका छन ।

उनले वर्षात सकिएलगत्तै देश दौडाहामा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने पनि बताएका छन ।

नेता कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि दाबी गरेका छन ।

उनले नेपालका लागि चिनियाँ राजदूतले दिएको सार्वजनिक अभिव्यक्तिको प्रसंगमा उनले त्यसलाई कूटनीतिक मर्यादाविपरीत भएको भन्दै सरकारले नोटिसमा राख्नुपर्ने बताएका छन ।

उनले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु गलत हुने पनि बताएका छन ।