काठमाडौ, २१ भदौ– नेकपा माओवादी केन्द्रका सचिव एवं संसद देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन ।
उनले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति निन्दा गर्दै मुलुकमा अराजकता मच्चाउने खालका गतिविधि नियन्त्रण गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, पत्रकारसहितलाई एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन ।
आज (बिहीवार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन । उनले मुलुकमा बढ्दो अराजकतालाई अन्त्य गर्न लागि नपर्ने हो भने कुनैपनि बेला असुरक्षाको स्थिति भोग्नुपर्ने अवस्था आउनेतर्फ सरकार र राजनीतिक दलहरुलाई सचेत गराएका छन ।
सांसद पौडेलले सहमहामन्त्री यादवको सांघातिक आक्रमणमा संलग्न व्यक्तिको पछाडि कुनै शक्ति भए त्यसलाई पनि कानूनी दायरामा ल्याउन सरकारलाई दबाब दिए ।
