कार्यस्थलमा अश्लील हर्कत: स्थायी सरकारको छवि धुमिलिने चिन्ता

२१ भाद्र २०८०, बिहीबार १५:२३


काठमाडौ, २१ भदौ– इलामका माइजोगमाई गाउँपालिकाका, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले २७ असारमा कार्यालयभित्र अश्लील हर्कत गरेको भिडियो हालै सार्वजनिक भएको छ ।

गाउँपालिकाका प्रमुख कुशबहादुर थेवे भिडियो आफूले पनि देखेको र यस्तो हर्कत कार्यालयभित्रै भएको पाइएको बताएका छन ।

उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत त यसअघि नै यहाँबाट सरुवा भएर गइसक्नुभयो’ उनले भने, ‘तर गाउँपालिका कार्यालयभित्र यस्तो कार्य हुनु लज्जाको विषय हो ।’

आइतबार १७ भदौ मा जिल्ला तथ्यांक कार्यालय, चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी कार्यालय सहयोगी महिलामाथि यौनशोषण गरेको आरोपमा पक्राउ परे ।

पीडित महिलाका अनुसार भण्डारीले तीन वर्षदेखि यौनशोषण गर्दै आएका थिए । अहिले चार महिनाको गर्भपतन गराउन खोजेपछि पक्राउ परेका भण्डारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

१३ साउनमा झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले सरकारी क्वार्टरमा महिलासँग अश्लील गतिविधि गरेको भिडियो सार्वजानिक भएको थियो ।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको भिडियो टिकटकमा सार्वजनिक भएपछि प्रमुख निरौलाले क्वार्टरमा रङरोगन गर्न लगाएका थिए ।

तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंमा बोलाएर उनलाई अतिरिक्तमा राखेको छ । आर्थिक घोटाला, भ्रष्टाचार र अनियमिततामा संलग्नता भएका कारण स्थायी सरकार भनेर चिनिने कर्मचारी प्रशासनको छवि धुमिले पारेको छ ।

पछिल्लो समय कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण)–२०७१ ऐन छ, तर यौनजन्य गतिविधि गर्नेहरुलाई आचारसंहिता उल्लंघनमा विभागीय कारबाही बाहेक अरु कानुनी कारबाही भएको छैन ।

साथै पछिल्लो समय सार्वजनिक भएका कार्यस्थलमा यौनजन्य क्रियाकलाप वा अश्लील गतिविधि गरेको घटना आउँदा कर्मचारी संयन्त्रमाथि थप अविश्वास बढ्ने अधिकारीहरुले बताएका छन ।

मन्त्रालयका एक अधिकारी यस्ता लाजमर्दा घटनाका विषयमा औपचारिक प्रतिक्रिया दिन नसकिने बताएका छन । उनले भने, ‘नैतिक र पदीय सीमाभित्र बस्नु कर्मचारीको न्यूनतम मर्यादाको विषय हो भन्ने जानकारी नभएको होइन, ‘सामान्य नागरिकसँग अपेक्षा गरिएको मर्यादा स्थायी सरकारको भूमिका निभाइरहेकाहरुमा नदेखिनु चिन्ताको विषय हो ।’

कर्मचारीहरुले आफ्ना आधारभूत नैतिक जिम्मेवारी र कर्तव्य बोध नगर्दा घटना दोहोरिरहेका उनले बताएका छन । अहिले प्रविधिको प्रयोग बढिरहेका बेला हिजोभन्दा बढी जिम्मेवार र सचेत हुनुपर्ने उनले बताएका छन ।

एक पूर्वप्रशासकले पनि सरकारी कार्यालयभित्र भएका यस्ता घटनालाई ‘नियमित’ किसिमले हेर्ने छुट सरकारलाई नभएको बताएका छन ।

समाजको नियामकबाट भइरहेका यस्ता घटनाले समाजको मनोविज्ञानलाई समेत दूषित बनाउने भन्दै उनले उपचारको खोजी गर्नुपर्ने उनले बताएका छन ।

सार्वजनिक पद धारणा गरेका व्यक्तिले सार्वजनिक जीवनमा आफूलाई आदर्श पात्रका रुपमा प्रस्तुत गर्नुपर्नेमा आफ्ना विचलित निजी जीवन बाहिर ल्याउने गरी हर्कतहरु गर्दा कर्मचारी संयन्त्रभित्र विकृति मौलाएको गलत सन्देश जाने डर भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।