अन्तर्राष्ट्रिय समुदायलाई चुच्चे नक्साबारे जानकारी गराउनु नेपालको कर्तव्य हो: माधव नेपाल

२१ भाद्र २०८०, बिहीबार १५:०८

काठमाडौ, २१ भदौ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालले जारी गरेको चुच्चे नक्साका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन ।

आज (बिहिबार) प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

उनले संसदबाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने कर्तव्य भएको बताएका छन ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नक्साका बारेमा जानकारी गराउनु दायित्व पनि भएको उल्लेख गर्दै त्यसो गरे, नगरेको सम्बन्धमा सरकारलाई प्रश्न समेत गरेका छन ।

उनले यदी अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रुपमा, कसरी गराइएको हो तत्कालीन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका छन ।

उनले परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पु¥याउन नसकेको बताएका छन । अध्यक्ष नेपालले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीहरुको समिक्षा गर्दै आगामी दिनमा दोहोरिन दिनु नहुने बताएका छन ।