काठमाडौ, २१ भदौ– नेपालमा पछिल्लो समय उन्नत जातको कुखुरापालन फस्टाउन थालेको देखीन्छ । केन्द्रीय तथ्यांक कार्यालयले आज बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजामा यस्तो विवरण सार्वजनिक भएको हो ।
नयाँ विवरणअनुसार नेपालभर अहिले १७ लाख ९९ हजार कृषक परिवारले कुखुरा पाल्छन गर्ने गरेको पाइएको छ । ती किसानको घरमा ४ करोड ५१ लाख १८ हजार गोटा कुखुरा रहेको विवरणमा उल्लेख छ ।
कुल कुखुराको संख्या मध्ये ५५ प्रतिशत कुखुरा उन्नत जातको गिरिराज, लेयर्स र ब्रोइलर रहेको तथ्यांक कार्यालयले जानकारी दिएको छ ।
२०६८ सालमा नेपालमा कुखुरा पालन गर्ने कृषकको संख्या १८ लाख ९ हजार मात्रै थियो । विगत १० वर्षमा कुखुरा पालन गर्ने सख्या थोरैले घटेपनि कुखुराको उत्पादन भने दुई गुणाले वृद्धि भएको विवरणमा उल्लेख छ ।
नयाँ गणना २०७८ अनुसार बागमती प्रदेशमा सबै भन्दा धेरै कुखुरा पालन गरिन्छ । त्यसमा पनि काठमाडौं जिल्ला कुखुरापालनका लागि अग्रणी देखिएको छ । नयाँ तथ्यांकअनुसार नेपालमा हाँसको संख्या साढे ३ गुणाले बढेर १३ लाख २६ हजार पुगेको छ ।
