काठमाडौ, २१ भदौ– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरेका छन ।
उनले भने, ‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु ।
या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस् । ’ साथै, महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
‘गृहमन्त्रीलाई सोध्न चाहन्छु–के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ?’ महामन्त्री थापाले प्रश्न गरेका छन ।
प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँठाउँमा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै थापाले भने, ‘म आग्रह गर्न चाहन्छु । जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो ।’
