अब एमालेमा पहिरो जाँदैछ: झलनाथ खनाल

२० भाद्र २०८०, बुधबार १६:२८

काठमाडौ,२० भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजबाट एमालेमा पहिरो जान सुरु गरेको बताएका छन ।

आज (बुधबार) पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले आफूहरु सही बाटोमा अघि बढ्न सके पार्टी पंक्तिभित्रका भ्रमहरुका बादल फाटेर जाने बताएका छन ।

उनले भने, ‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग ।

विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् । तर, हामीले यही मञ्जबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । अब एमालेभित्र पहिरो जाँदैछ ।’

उनले एमालेसँगको मतभिन्तालाई प्रष्टसँग देख्नुपर्ने बताएका छन । उनले पार्टीनिकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेको बताएका छन ।

उनले भने, ‘एमालेले अहिले त समाजवाद ल्याउँनै सक्दैन भन्छ समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन । अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हुर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन त्यसले जबज नै लक्ष्य हो भन्छ । त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो ।’

उनले जबजले कम्युनिष्ट पार्टीको नेतृत्व र मार्क्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने टिप्पणी गरेका छन । उनले आफूहरू समाजवादको बाटोमा रहेको बताएका छन।

समाजवाद आवश्यकताबारे जानकारी गराउँन राष्ट्रव्यापी रुपमा अभियान लिएर जाने बताएका छन ।