भ्रष्टाचारी, तस्करी र सरकार सँगसँगै हुन सक्दैन: गृहमन्त्री श्रेष्ठ

२० भाद्र २०८०, बुधबार १४:५८

काठमाडौ,२० भदौ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका छन ।

आज (बुधबार) सामूदायिक रेडियो माडीले गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन । उनले तस्करीलाई कारबाही गर्ने सम्बन्धमा प्रश्न उठे पनि मूलभूत रूपमा कुनै सम्झौता नहुने पनि बताएका छन ।

उनले भने, ‘भ्रष्टाचारी, तस्करी, कालोबजारीलाई कारबाही गर्ने सम्बन्धमा केही प्रश्न उठेका छन् । गृहमन्त्री वा सरकार कति टिक्छ भन्ने सवालमा पनि प्रश्न उठेको छ, ‘तस्करी र सरकार सँगसँगै रहन सक्दैन ।

मूलभूत रूपमा सरकारले कसैसँग पनि सम्झौता गर्दैन । विभिन्न प्रकरणमा जोडिएका व्यक्तिहरूलाई सरकारले कारबाही गरेरै छोड्छ ।’

उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धि नभएसम्म प्राप्त उपलब्धिको रक्षा हुन नसक्ने पनि बताएका छन ।