काठमाडौ, २० भदौ– नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन्।
हिजो मङ्गलवार नेतृत्वका लागि भएको निर्वाचनको आज बिहान आएको मतपरिणाम अनुसार अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् ।
मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका अर्का प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।
विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। त्यसैगरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् ।
उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत प्रप्त गरे । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् ।
उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत प्रप्त गरे । महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याईन् ।
यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् ।पदाधिकारीमा सचिव लक्ष्मण आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए ।
पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो ।
मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका निर्वाचित भएका छन ।
यो सँगै एमाले महासचिव शंकर पोखरेललाई ठुलो झड्का लागेको छ । निर्वाचित कँडेललाई एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन थियो भने पराजित रिजाललाई महासचिव शंकर पोखरेलको समर्थन रहेको थियो ।
त्यसोत गत शनिबारबाट सुरू भएको अधिवेशन आइतबार नै टूंग्याउने एमालेको तयारी थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशनसमेत दिएका थिए ।
तर एमालेको भावि केन्द्रीय नेतृत्वमा आकांक्षा व्यक्त गरिरहेका मूख्य दुई नेताहरु शंकर पोखरेल र विष्णु पौडेलले आ आफ्नो समूहका नेतालाई अध्यक्ष बनाउनुपर्ने दाबी नछोडेपछि अन्ततः निर्वाचनमै जानु परेको थियो ।
एमालेभित्र अध्यक्ष ओलीका अत्यन्तै निकट नेताद्धय पौडेल र पोखरेल पछिल्लो समय गुटगत राजनीतमा लागेको चर्चा भईरहेको छ । पौडेल र पोखरेलको लडाँईंकै कारण एमालेको लुम्बिनी प्रदेश अधिवेशन कँडेल र रिजालबीचमा नभएर विष्णु पौडेल भर्सेस शंकर पोखरेल बन्न पुगेको थियो ।
एमाले अध्यक्ष ओलीका निकट नेताहरु पौडेल र पोखरेल सार्वजनिक रुपमा भने आफूहरुबीच कुनै गुट नभएको बताउदै आएका छन ।
गत शनिबार सुरू अधिवेशनको उद्धघाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेल र उपाध्यक्ष पौडेल दुबैले एक अर्काबीच प्रतिस्पर्धा नभएको दाबीसहितको प्रष्टीकरण दिएका थिए ।
ओली नेतृत्वको एमालेभित्र कुनै विवाद नरहेको बताउँदै पौडेलले भनेका थिए, ‘शंकर पोखरेल र मेरो गुट छैन, रंगीन समाचारबाट तरंगित नहुनुहोला ।’ पोखरेलले त लुम्बिनीको नेतृत्व मात्रै नभएर अरु सबै विषयमा सहमति हुने बताएका थिए ।
‘लुम्बिनी प्रदेश अधिवेशनमा मात्र होइन, अरु सबै विषयमा विष्णु पौडेल र शंकर पोखरेल एक ठाउँमा छन्, कसैले शंका गर्नु पर्दैन’, पोखरेलले भनेका थिए ।
तर अधिवेशन अगाडि भएको तयारी र गतिविधिहरुले दुई पक्षबीच प्रतिस्पर्धा हुन गइरहेको लुकेको थिएन । र अन्ततः पौडेल पक्षका कँडेल विजयी बन्दा झिनो मतान्तरले पोखरेल पक्षका रिजाल पराजित भए ।
एमालेभित्र रिजालको हारलाई महासचिव पोखरेलको हारको रुपमा हेरीएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्र बेहोरेको यो नै पहिलो हार भने होईन् ।
एमालेको २०६५ सालमा भएको ८ औं महाधिवेशनबाट सचिव निर्वाचित पोखरेल २०७१ मा उनै विष्णु पौडेलसँग उपमहासचिवमा पराजित नै भएका थिए।
गत वर्षको मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य पदमा पनि पोखरेल दाङ २ बाट सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए ।
एमालेका महासचिव पोखरेल लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री हुन्। २०७० को संविधानसभा सदस्य निर्वाचनमा दाङबाट हारेका उनले २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट प्रदेश सांसद निर्वाचित बन्दै लुम्बिनीको संस्थापक मुख्यमन्त्री बन्ने अवसर पाएका थिए ।
२०७४ फागुन ३ देखि उनी २०७८ साउन २८ गतेसम्म गरि २ पटक लुम्बिनीको मुख्यमन्त्री बनेका थिए । पोखरेल २०६४ मा समानुपातिक तर्फबाट सांसद बनेका थिए।
२०५१ मा पहिलो पटक सांसद बनेका पोखरेलले २०५६ को संसदीय निर्वाचनमा पनि पराजय भोगेका थिए । उनी एक पटक सञ्चार मन्त्री भइसकेका छन्। पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रसमेत हुन ।
एक वर्षअघि भएको एमालेको दसौं महाधिवशेनबाट एमालेमा महासचिवका बलिया दाबेदार विष्णु पौडेललाई उपाध्यक्षतर्फ धकेल्दै महासचिव हासिल गर्न सफल भएका थिए ।
उनलाई अध्यक्ष ओलीले शक्तिशाली महासचिव पदमा निर्विारोध चयन हुने अवस्था बनाईदिएका थिए ।दपोखरेल एमालेभित्र बौद्धिक छवी बनाएका नेता हुन्।
उनी जनताको बहुदलीय जनवादको व्यख्याताको रूपमा समेत एमाले नेता कार्यकर्तामा परिचित छन् । पोखरेल एमालेको भावि अध्क्षका मूख्य दाबेदार हुन् ।
एमालेले अधिवेशनबाट पारित गरेको विधानको कायमै रहे हालका अध्यक्ष ओली अब अध्यक्ष बन्न पाउने छैनन् । एमालेको विधानले एउटै व्यक्ति उहि पदमा दुई कार्यकाल भन्दा धेरै निर्वाचित हुन नसक्ने उल्लेख छ ।
भने एमालेको विधानमा ७० वर्ष पूरा गरेका कुनैपनि व्यक्ति कार्यकारी भूमिकामा रहन नसक्ने उल्लेख छ । यद्धपि एमालेले उमेर हदको व्यवस्था हाललाई निलम्बन गरेको छ ।
तर नेताहरुले उक्त निलम्बन केहि समयका लागि मात्रै रहेको बताउने गरेका छन् । नेताहरुले भनेजस्तै उमेर हदको व्यवस्था पुनः लागू भएमा एमालेको १०औं महाधिवेशनमा निर्वाचित पदाधिकारीमध्ये महासचिव पोखरेल, उपाध्यक्ष पौडेल र ६ जना सचिवमात्रै अर्को कार्यकालपनि एमोको सक्रिय राजनीतिमा रहन पाउने देखिन्छ ।
