६० किलो सुन तस्करी प्रकरण: सुमन खरेल सुन ओसारपसारमा संलग्न व्यक्ति

१९ भाद्र २०८०, मंगलवार १७:४७

काठमाडौ, १९ भदौ– ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका टोखाका सुमन खरेल नेपाल–भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति रहेको पाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि भारतबाट पक्राउ गरेर ल्याएको हो ।

चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग उनको सम्बन्ध देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय रहेको खुलेको छ ।

राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको देखिएको छ । ‘एलेक्ससँग उनको नजिकको सम्बन्ध देखिएको छ, यसमा संलग्न अरु नेपालीको पनि खोजी भइरहेको छ’, सीआईबी स्रोतले भन्यो ।

हालसम्म यो प्रकरणमा २५ जना पक्राउ परिसकेका छन् । राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो ।

१९ दिनपछि अनुसन्धानको सम्पूर्ण जिम्मेवारी सीआईबी लाई दिइएको थियो । त्यसक्रममा हङकङबाट आउने सुनको व्यवस्थापनमा संलग्न ६ जना विदेशी नागरिक पक्राउ परी सकेका छन ।

पक्राउ परेकामध्ये बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग पनि सम्बन्ध देखिएको छ । निकटता देखिएपछि सीआईबीले सोमबार पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग पनि बयान लिएको छ ।