सुनका गहना चोरेको आरोपमा एक युवती पक्राउ

१९ भाद्र २०८०, मंगलवार १४:४३

काठमाडौ, १९ भदौ– प्रहरीले सुनका गरगहना चोरी गरेको आरोपमा लमजुङबाट एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसीशहरकी सुजा घिमिरे रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार केही दिनअघि बेसीशहर नगरपालिका–७ को क्याम्पस रोड र न्यू इरा बोर्डिङ स्कुल नजिकै भएको छुट्टाछुट्टै घटनामा करिब २३ तोला बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको थियो ।

चोरीको घटना बढ्न थालेपछि सूक्ष्म अनुसन्धानका साथै निगरानी बढाएको लमजुङ प्रहरीले आइतवार घिमिरेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकी घिमिरेको साथबाट सुनको रानीहार, मिनिहार, सिक्री र सुनको गणेशको मूर्ति लकेट एकरएक थान फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश सिर्मलले जानकारी दिएका छन ।

त्यस्तै सुनको वाला, औठी, झुम्का, सुनको रातो पत्थर जडित औंठी, सुनको पत्थर जडित टप, सुनको औंठी दुईरदुई थान र सुनको टप ४ थानसमेत फेला परेको उनले जानकारी दिएका छन ।

उनीविरुद्ध चोरी तथा डाँका कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी सिर्मलले जानकारी दिएका छन ।