काठमाडौ, १८ भदौ– एसिया कप क्रिकेटको आज सोमबार भएको खेलमा भारतीय फिल्डरले नेपालका दुवै ओपनर ब्याट्सम्यानको क्याच छाडेका छन् ।
दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखले तीनपटक क्याच आउट हुनुबाट जोगिएका छन । पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए ।
त्यसपछि दोस्रो ओभरमा मोहम्मद सिराजको बलमा विराट कोहलीले आशिफ शेखको क्याच छोडेका थिए । यसैगरी पाँचौं ओभरमा कुशल भुर्तेलको क्याच विकेटकिपर इशान किशनले छाडेका थिए ।
त्यसपछि छैटौं ओभरमा सिराजको बलमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले छक्का प्रहार गरेका छन । जारी खेलमा नेपालले पाँच ओभरमा २३ रन बनाएको छ ।
प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्न दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको यो खेलमा भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
