काठमाडौ, १८ भदौ– नेकपा माओवादी केन्द्रकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन ।
आज (सोमबार) राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले भोली मंगलबार बस्ने बस्ने मन्त्रिपरिषद बैठकले विधेयक पारित गरी संसदमा पेश गर्ने सम्भावना रहेको जानकारी गराएका छन ।
उनले संघीय निजामती सेवा विधेयक ल्याउन ढिला भएको स्वीकार गरेका छन । प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्भवतः भोलिको मन्त्रिपरिषदको बैठकबाट पारित गरेर सदन समक्ष प्रस्तुत गर्ने तयारी रहेको जानकारी गराउन चाहन्छु ।’
उनले अघिल्लो प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकलाई सरकारले परिमार्जन गरेर अन्तिम रुप दिएको पनि बताएका छन ।
