काठमाडौ, १८ भदौ– काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहा बालेनले शनिबार मेयर चढ्ने सरकारी नम्बर प्लेटको गाडी चेकजाँचमा परेपछि अब आइन्दा फेरि पनि महानगरको गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए।
मेयर शाहाले सामाजिक सञ्जाल यस्तो लेख्नुको कारण थियो मेयर बालेन नभएर उनकी पत्नी सविना काफ्ले चढेको गाडी ट्राफिक प्रहरीले चेकजाँच गर्नुरहेको थियो ।
शनिवार साँझ ८ः४९ बजे कोटेश्वर चोकमा ट्राफिक प्रहरीले नियमित चेकजाँचका क्रममा बालेन शाह चढ्ने गरेको सरकारी नम्बर प्लेटको गाडीको विषयमा ट्राफिक प्रहरीले सोधपुछ गरेका थिए ।
सोही विषयलाई लिएर बालेनको गैरजिम्मेवार अभिव्यक्तिपछि सञ्चारमाध्यममा घटनाबारे समाचार प्रकाशन भएको थियो । पहिले शनिवार साँझ भएको के थियो, त्यो बुझौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले चढेको सरकारी नम्बर प्लेटको कार शनिबार साँझ ८ बजेर ४९ मिनेट जाँदा ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वरमा आइपुगेको थियो ।
त्यहाँ ट्राफिक चेकिङ चलिरहेको थियो भने सवारी साधनहरू लाइनमा रहेका कारण उक्त गाडी केही पछाडि थियो । जब उक्त गाडी ट्राफिक चेकिङ भइरहेको स्थानमा आइपुग्यो, त्यसपछि ट्राफिक प्रहरीले सेतो नम्बर प्लेट देखेपछि गाडीलाई रोकेर कागजात र शनिबार चलाउनका लागि स्थानीय प्रशासनबाट लिइएको पास माग गरेको थियो ।
तर चालकले शनिबार उक्त सवारीसाधन चलाए पनि पास नबनाएको र उक्त गाडी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भएको जानकारी गराएका थिए ।
तर गाडीमा बालेन शाह नदेखेपछि ट्राफिक प्रहरीले उहाँ को हो भनी प्रश्न गरेपछि चालकले उहाँ बालेनकी पत्नी भएको र अस्पतालबाट फर्किँदै गरेको बताएका थिए ।
त्यसलगत्तै ट्राफिक प्रहरीले चालकलाई शनिबार सरकारी सवारीसाधन नचलाउन र चलाउन परे अनिवार्यरुपमा पास लिएर मात्रै चलाउनका लागि सुझाव दिँदै सवारीसाधनलाई छाडिदिएको थियो । उक्त सवारीसाधन शनिबार साँझ ८ बजेर ५१ मिनेट २ सेकेन्ड जाँदा त्यहाँबाट गएको सिसिटिभी फुटेजमा देखिन्छ ।
अर्थात्, ट्राफिक लाइट, कोटेश्वर चोकको सवारी जाम र ट्राफिक चेकिङ गरी मात्रै २ मिनेट २ सेकेन्ड उक्त गाडी रोकिएको छ । ट्राफिक चेकिङका लागि उक्त सवारीसाधन करिब ४० सेकेन्ड रोकिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
कोटेश्वरमा नियमित चेकजाँचका क्रममा उक्त सवारीसाधन पनि चेकजाँच गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन । सेतो नम्बर प्लेटको सरकारी गाडी भएको र शनिबार चलेको हुनाले ट्राफिक प्रहरीले सोधपुछ गरेको उनको भनाई
भट्टका अनुसार बिदाको दिन भएकाले पास छ कि छैन भनेर सोधेको र चालकको लाइसेन्स हेरेर पास बोकेर हिँड्नु भनी सम्झाएर पठाइएको हो । त्यसबाहेक अरू केही भएकै थिएन ।
