यो खेल हाम्रा लागि आफूलाई परीक्षण गर्ने गतिलो अवसर पनि हो: कप्तान पौडेल

१८ भाद्र २०८०, सोमबार १३:३३

काठमाडौं, १८ भदौं– एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार (आज) नेपालले भारतसंग खेल्ने भएको छ । नेपालले आफूभन्दा निकै बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ ।

उक्त खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । खेल नेपाली समय अनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ । समूह ‘ए’ मा रहेका नेपाल र भारत दुबैको लागि यो खेल निकै महत्वपूर्ण छ । यो खेलमा विजयी हुने टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ । समूह ‘ए’ बाट आयोजक पाकिस्तान यसअघि नै ‘सुपर फोर’ चरणमा पुगिसकेको छ ।

समूहगत चरणको अन्तिम खेलअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले भारतविरुद्धको खेल आफ्ना लागि निकै ठूलो अवसर भएको बताएका छन् । ‘भारतजस्तो बलियो टोलीसँग खेल्न पाउनु हाम्रा लागि निकै ठूलो अवसर हो । हाम्रा खेलाडीले आफ्ना आदर्श खेलाडीहरुसँग अनुभव आदानप्रदान गर्न पाउने छौं,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन् ।

नेपालले पहिलो पटक एसिया कप खेलेको हो । १५औं पटक एसिया कप खेलिरहेको भारत भने सातपटकको उपाधि विजेता राष्ट्र पनि हो । जारी एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।

भारत र पाकिस्तानको खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसैले भारत यतिबेला नेपालविरुद्दको खेल जित्नै पर्ने दबाबमा छ । यदि नेपाल र भारतबीचको खेल पनि वर्षाका कारण रद्द भए दुई अंकसहित भारत प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ ।

‘भारतसँग खेल्न पाउँदा हामी निकै उत्साही छौँ । एसिया कपजस्तो ठूलो प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाउनु हाम्रा लागि निकै ठूलो अवसर पनि हो,’ कप्तान पौडेल भन्छन्, ‘दुबै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । यो खेल हाम्रा लागि आफूलाई परीक्षण गर्ने गतिलो अवसर पनि हो ।’