एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल बनलान कि हरि रिजाल ?

१८ भाद्र २०८०, सोमबार १०:३५

काठमाडौं, १८ भदौ– नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरु छलफलमा जुटेका थिए ।

तर दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको छ । दुबैले उम्मेदवारी दर्ता गरेका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।

निर्वाचन आयोगले सोमबार बिहानैबाट निर्वाचन कार्यक्रम सुरु गरेको छ । आज बिहान १० बजेसम्म मनोनयनको समय तोकेको छ । अहिलेसम्म निर्वाचन मण्डलले मतदान हुने नहुने जानकारी दिएको छैन । तर एक एमाले केन्द्रीय सदस्यका अनुसार अब निर्वाचन हुने पक्का भएको छ ।

१० बजेसम्म मनोनयनको समय दिइएको र त्यसपछि दाबी विरोध, उम्मेदवारी फिर्ता लगायतका कामहरू हुने निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए । निर्वाचन कमिटीका सदस्यीय विष्णुप्रसाद खनालले मनोनयन दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले अन्य प्रक्रिया थाल्ने बताए ।