लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षसहितका पदमा दुई समूहको उम्मेदवारी दर्ता

१८ भाद्र २०८०, सोमबार १०:०३

काठमाडौं, १८ भदौं– नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि दुई प्यानल बन्ने देखिएको छ । बुटवलमा जारी लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षसहितका पदमा दुई समूहले उम्मेदवारी दर्ता गरेपछि छुट्टाछुट्टै प्रतिस्पर्धामा हुने देखिन्छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन र बन्दसत्रमा सहमतिमा टुङ्ग्याउन निर्देशन दिए पनि अध्यक्षसहित पदाधिकारीमा दुई समूहको छुटाछुट्टै उम्मेदवारी दर्ता भएको हो । आइतबार अबेरसम्म पनि सहमतिको प्रयास भए पनि अन्ततः अध्यक्षमा वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरिप्रसाद रिजालले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन आयोगले सोमबार बिहानैबाट निर्वाचन कार्यक्रम सुरु गरेको छ । आज बिहान १० बजेसम्म मनोनयनको समय तोकेको छ । अहिलेसम्म निर्वाचन मण्डलले मतदान हुने नहुने जानकारी दिएको छैन । तर एक एमाले केन्द्रीय सदस्यका अनुसार अब निर्वाचन हुने पक्का भएको छ ।

१० बजेसम्म मनोनयनको समय दिइएको र त्यसपछि दाबी विरोध, उम्मेदवारी फिर्ता लगायतका कामहरू हुने निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए । निर्वाचन कमिटीका सदस्यीय विष्णुप्रसाद खनालले मनोनयन दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले अन्य प्रक्रिया थाल्ने बताए ।