रचनात्मक कार्यक्रम सहित संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णयः

१७ भाद्र २०८०, आईतवार १४:३२

काठमाडौं । नेपाल सरकारले संविधान दिवस विविध रचनात्मक कार्यक्रमसहित ३ दिनमनाउने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले सो निणर्य गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।

उनले भने, ‘२ गते स्मारिका प्रकाशन, सम्वाद, परिसम्वाद, संविधानको बारेमा अन्तरक्रिया कार्यक्रम र छलफल हुन्छ । ३ गतेका दिन सैनिकमञ्चमा विशेष समारोह हुन्छ र देशव्यापी रुपमा भव्य समारोह हुन्छ । त्यसको लागि ३ दिनको कार्यक्रम तय भएको छ । विदेश स्थित राजदुतावासमा कुटनीतिक नियोगहरुमा पनि यो दिवस मनाउन र तीनै दिन सम्म दिपावली गरेर संविधान दिवस मनाउने कार्यक्रम रहेको छ ।’

सरकारले असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम गर्ने तय भएको छ । यस्तै असोज ३ मा सैनिकमञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस मनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय भएको छ । यस्तै, असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासकार उपत्यकाबाहिर पनि विविध कार्यक्रम गर्ने सचिवालयले जनाएको छ ।