ह्याकरहरूको विश्वकपमा नेपाली टोली सेमिफाइनलमा

१५ भाद्र २०८०, शुक्रबार १८:३४

काठमाडौँ, १५ भदौ– नेपाली ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।

ह्याकरहरूको सबैभन्दा ठूलो प्रस्तिस्पर्धा मध्येको यो प्रतियोगितामा नेपाली ह्याकरको टोली अमेरिकालाई पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो ।

भर्चुअल माध्यममार्फत् भएको यस प्रतियोगितामाअमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । यस प्रतियोगिता विश्वभरका ह्याकरहरूको टोलीले तोकिएको समयमा जुन टोलीले धेरै कमजोरी (बग) फेला पार्छ, सोही टिमले अङ्क प्राप्त गर्ने छ ।

जुन टोलीले सबै भन्दा बढी अङ्क पाउँछ उसैलाई विजेता घोषण गरीने छ । मार्च १३ देखि सुरु भएको यो प्रतियोगितामा नेपालले भारत र पाकिस्तानलाई हराउँदै शीर्ष १६ मा पुगेको थियो ।

नेपालले अब स्पेनसँग सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल प्रतिस्पर्धामा स्थान सुरक्षित गर्न नेपालले स्पेनलाई हराउनु पर्ने बाध्यता रहेको छ । हाल उक्त प्रतियोगितामा नेपालका २६ जना ह्याकरहरूले सहभागि भएका छन ।