काठमाडौँ, १५ भदौ– सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमाको अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शन भएको छ ।
आज शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन्। राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी छन्।
यद्यपि चलचित्र पूर्णरूपमा राजनीतिमै केन्द्रित भने नरहेको निर्देशक चौलागाईंले जानकारी दिएकी छन । उनले भनिन् , ‘हाम्रो दैनिक जीवन राजनीतिबाट टाढा छैन, चलचित्रमा सामाजिक विषयवस्तु पनि समावेश छ ’।
चलचित्रमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छन्। राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताएकी छन ।
केपी फिल्मको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतले अभिनय गरेका छन्।
बिहीबारदेखि नै प्रदर्शन गरिएको अर्को चलचित्र ‘गणपति’लाई सविन अधिकारीले निर्देशन गरेका हुन । उनकै लेखन रहेको सो चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ।
चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले अभिनय गरेकाा छन्।
अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताएका छन । उनले भने, ‘यो केही फरकरूपमा तयार भएको छ। यसमा अभिनय गर्दा पात्रमै रहेर केही समय बिताएको थिएँ । ’
