चिनले जारी गरेको नयाँ नक्सा: ३ राष्ट्रले विरोध जनाउँदा नेपाल भने मौन

१५ भाद्र २०८०, शुक्रबार १४:४०


काठमाडौँ, १५ भदौ– केही समयअधि मात्र चिनले सार्वजनि गरेको नयाँ नक्साको छिमेकी राष्ट्रहरुले विरोध गरेका छन । चीनले आफूहरुको सार्वभौमिकता ख्याल नगरी नयाँ नक्सा जारी गरेको भन्दै ३ राष्ट्रले विरोध जनाउँदा नेपाल भने मौन रहेको छ ।

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश छैन । नयाँ नक्सामा भारत र फिलिपिन्सले औपचारिक असहमति जनाएका छन् भने मलेसियाले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेको भन्दै कडा त्यसको कडा विरोध गरेको छ ।

सन् २००६ यता चीनले नक्सा अध्यावधिक गर्दै आएको छ । चीन छिमेकीहरुको समेत भूभागमा आफ्नो दाबी गर्दै गत सोमबारमात्रै नयाँ नक्सा जारी गरेको हो ।

फिलिपिन्सले चिनले सार्वाजनिक गरेको नयाँ नक्सा स्वीकार्य नहुने चेतावनी फिलिपिन्सले दिएको छ । चीनले साउथ चाइना सीको फिलिपिन्सको भूभाग समेत नयाँ नक्सामा समेटेको भन्दै मनिलाले आपत्ति व्यक्त गरेको छ ।

सन् २०१६ मा अन्तर्राष्ट्रिय न्यायाधिकरणले मनिलाको पक्षमा फैसला गर्दै विवादित क्षेत्रको सीमांकन गरेको थियो । अन्तर्राष्ट्रिय न्यायाधीकरणको त्यस सीमांकनलाई वेवास्ता गर्दै फिलिपिन्सको भूभाग राखेर चीनले नक्सा सार्वजनिक गरेपछि मनिलाले आपत्ति जनाएको छ ।

फिलिपिनी विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘फिलिपिन्सको सार्वभौमसत्ता माथि धावा बोल्दै सामुन्द्रिक क्षेत्रलाई जबरजस्ती आफ्नो नक्सामा समेट्ने चिनियाँ प्रयास अन्तर्राष्ट्रिय कानुन विपरीत छ ।

यो नक्सा हामीलाई स्वीकार्य छैन ।’ भारतले मंगलबार नै यसको औपचारिक विरोध गरेको थियो । अरुणाञ्चल प्रदेश र आक्साइ चीन पठार बेइजिङले आफ्नो नक्सामा राखेपछि नयाँदिल्लीले यसको विरोध गरेको छ ।

‘बिना कुनै आधार हाम्रा भूमि आफ्नो नक्सामा समेट्ने कुरा भारतलाई स्वीकार्य छैन । हामीले कुटनीतिक ढंगबाट यसको विरोध जनाएका छौँ,’ भारतीय विदेश मन्त्रालयका सचिव अरिन्दम बाग्चीले भनेका छन् ।