नेकपा एसका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल सहित ६५ जना एमालेमा प्रवेश

१५ भाद्र २०८०, शुक्रबार १२:३२

काठमाडौं, १५ भदौं– नेकपा एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल तथा जिल्ला कमिटी सदस्यहरूसहित ६५ जना नेताकार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बुधबार उनीहरूलाई सुर्खेतमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । उक्त क्रममा एकीकृत समाजवादी निकट नेपाल इन्जिनियरिङ्ग एशोसियनकोे कर्णालीको सिङ्गा टीम पनि नेकपा (एमाले) मा प्रवेश गरेको छ ।

पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले एकीकृत समाजवादीले जनताका आकाङ्क्षा पूरा गर्न नसक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेमा आउन अपिल गरे । उनले जनताको बहुदलीय जनवादलाई साकार पार्ने पार्टी एमाले मात्रै भएको भन्दै यो अभियानमा साथ दिन समेत आग्रह गरेका छन्।

कार्यक्रममा पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य यामलाल कँडेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।