अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छु : महानायक राजेश हमाल

१५ भाद्र २०८०, शुक्रबार १०:४०

काठमाडौं, १५ भदौं– कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’को सञ्चानल हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा टेलिभिजन कार्यक्रमको सञ्चालन हुने घोषणा गरियो ।

कृषि, उद्यमशिलता र जलवायु परिवर्तनका मुद्दालाई मुख्य विषयवस्तु बनाइएको कार्यक्रमलाई महानायक राजेश हमालले होस्ट गर्ने भएका छन् । इ–स्क्वायर प्रा.लि.ले कृषि र मनोरञ्जन विधालाई समावेश गरी कार्यक्रमको परिकल्पना गरिएको छ ।

उक्त शोमा किसान र कृषि प्राविधिकहरुले सहभागीता जनाउने बताइएको छ । शोलाई शैलेश कँडेलले निर्देशन गर्ने छन्। यस्तै मास्टर होस्टको रुपमा महानायक हमाल रहेका छन् । यस्तै उक्त शो को जजको भूमिकामा योगेन्द्र कुमार कार्की र नम्रता पाण्डे रहने छन् ।

प्रेसमिटमा बोल्दै महानायक हमालले विकासका लागि व्यवसायिक कृषिसँगै कृषि क्रान्ति जरुरी रहेको बताए । उनले भने, ‘तीन दशक लामो अभिनय यात्रामा कैंयनपटक किसानको भूमिकामा देखिएको थिएँ । अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छु ।’

यस्तै महानायक हमालले भने, ‘यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिको गफ गरेको सुनिएको थियो । अब भने यो कार्यक्रममार्फत साँच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने अपेक्षा राखेको छु । यो खालको कार्यक्रमलाई राज्यको औपचारिक निकायले अपनत्व लिनुपर्छ भन्ने मलाई लागेको छ।’

निर्देशक कँडेलले यो शो किसान र कृषि प्राविधिकबीचको प्रतिस्पर्धा नभएको बताए ।