काठमाडौं, १४ भदौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि शक्तिले वर्तमान सरकार ढाल्न नसक्ने बताएका छन् ।
आज(बिहीबार) समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरे ।
सरकारले जनताको हितमा सही काम गरिरहेको दाबी गरेको उनले बताए । नेपालले भने, ‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस्, कसैलाई ढलोस् भन्ने लागेको छ भने असिनपसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौँ ।’
नेपालले सरकारमा रहेका कम्युनिस्ट धारका दलहरूको मोर्चा हुँदा सत्तारुढ कांग्रेस रुष्ट हुन्छ कि भन्नेहरू पनि रहेको, तर त्यो सही नभएको नेपालले बताए । उनले भने,‘गठबन्धनका कम्युनिस्ट मिलेर मोर्चा बनाएकाले कांग्रेसको मनमा चिसो पस्यो कि भन्नेहरू पनि छन्, त्यस्तो केही छैन ।’
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध चालेको कदममा सत्तारुढ दलहरूको ऐक्यबद्धता रहेको भन्दै उनले आफ्नो पार्टीका हुन् वा अरु पार्टीका जोसुकै पनि भ्रष्टाचारमा संलग्न भए पनि कारबाही चलिरहेको बताए ।
नेपालमा वैदेशिक हस्तक्षेप स्वीकार्य नरहेको नेपालले बताउँदै उनले एमसिसी सैनिक विषयसँग नजोडिएको पनि बताए ।
