काठमाडौ, १३ भदौ– सुन तस्करी प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथि प्रहरी उच्च नेतृत्वले छानबिन गर्न अस्वीकार गरेको छ ।
केही दिनअघि माओवादी पदाधिकारीसमेत उपस्थित भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी उच्च नेतृत्वलाई बोलाएर महरालाई छानबिनको दायरामा ल्याउन आग्रह गरेका थिए ।
बैठकमा उपप्रधान एवं गृहमन्त्री एवं माओवादी वरिष्ठ नेता नराण्याकाजी श्रेष्ठसहित अधिकांश माओवादी पदाधिकारी रहेका थिए । महरा भने गृहजिल्ला दाङमा भएकाले बैठकमा उपस्थित भएका थिएनन् ।
प्रचण्डले प्रहरी अधिकारीलाई भनेका थिए ‘महरालाई किन छानबिनको दायरामा ल्याइएन भनेर पार्टीबाहिर र भित्रैबाट समेत धेरै सुझाव र दबाब आएका छन्, ‘महरा र उनका छोरालाई छानबिनको दायरामा ल्याउनुप–यो ।’
जवाफमा प्रहरी नेतृत्वले महरामाथि छानबिनको आधार नरहेको भन्दै उनलाई कारबाहीको दायरामा ल्याउन नसकिने बताएको थियो ।
सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बज्राचार्यले टेलिफोन कुराकानीका आधारमा मात्र महरालाई पक्राउ गर्न वा बयानमा बोलाउन नसकिने बताएकी थिइन् ।
बज्राचार्यको तर्कपछि प्रचण्डसहित माओवादी नेताहरुले सरकारी वकिललाई सीआईबीले बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङबीच भएका टेलफोन संवादको डिटेल किन संलग्न गरेको त भन्ने प्रश्न गरेका थिए ।
जवाफमा बज्राचार्यले त्यसो गर्नु गल्ती भएको बताएकी थिइन । दुबईबाट गत १० पुसमा मा विद्युतीय चुरोट मा लुकाएर करिब ९ केजी सुन भित्र्याइएको थियो ।
उक्त सुन चिनियाँ नागरिक वाङको भएको पुष्टि भइसकेको छ । भन्सार कार्यालयले नियन्त्रणमा लिएको भेप भन्सारको स्टोरबाटै गायब भएको छ ।
महराले वाङसँग आफ्नो १० वर्षभन्दा अघिदेखि पारिवारिक सम्बन्ध रहेको सार्वजनिक रुपमै स्वीकार गरीसकेका छन । तर, वाङ सुन तस्कर नभई फलफूल व्यापारी भएको उनले बताएका थिए ।
जफत गरिएको सुन भन्सारबाट हराउनुअघि महरा र उनका छोराले पटकपटक भन्सार कर्मचारीलाई टेलिफोन गरेको समाचारहरु आएका थिए ।
महरा आफैंले जारी गरेको विज्ञप्तिमा भन्सारले सामान नियन्त्रणमा लिएपछि वाङको आग्रहमा आफू र छोरा राहुलले भन्सार कर्मचारीलाई टेलिफोन गरी सहजीकरण गरिदिन भनेको स्वीकार गरेका छन् । तर, उक्त सामान सुन भएको बारे भने जानकारी नभएको महराले बताएका छन ।
