आजदेखि कार्यान्वयनमा जाँदै एमसीसी

१३ भाद्र २०८०, बुधबार १२:४१

काठमाडौ, १३ भदौ– अमेरिकी सहायता मिलियन च्यालेन्ज (एमसीसी) परियोजना आज देखि कार्यान्वयन हुने भएको छ ।

आज बुधबार दिउँसो ३ बजे नेपाल सरकार र एमसीसीबीच कार्यान्वयनमा जाने सम्झौता पत्र आदानप्रदान गरेपछि परियोजना कार्यान्वयन हुने लागेको हो ।

एमसीसी कार्यान्वयनमा जाने सम्झौता गर्न अमेरिकाबाट उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आएका छन । आजदेखि कार्यान्वयनमा जाने एमसीसी परियोजना ५ वर्षमा सकिने एमसीए नेपालका सञ्चार विज्ञ पुस्कर माथेमाले जानकारी दिएका छन ।

उनले भने, ‘आज दिउँसो ३ बजे नेपाल सरकार र एमसीसीले कार्यान्वयनमा जाने घोषणा गर्छन्, ‘सफ्ट लञ्च भएपछि कार्यान्वयनमा जाने एमसीसी परियोजना ५ वर्षमा सक्नपर्छ ।’

यसका लागि रातमाटेमा जग्गा प्राप्ती सम्पन्न भइसकेको उनले बताएका छन । तर, यसबाहेकका अन्य स्थानमा मुआब्जाबापतको जग्गा प्राप्ति नभइसकेको उनले बताएका छन ।

उनले भने, ‘केही स्थानमा जग्गा अधिग्रहण सकिएको छैन । अब कार्यान्वयनमा गएपछि धमाधम अधिग्रहण हुन्छ’ । यो परियोजनाले आगामी ५ वर्षमा नेपालमा प्रसारणलाइनसहित रणनीतिक सडक बनाउनेछ ।

यसका लागि ५० करोड अमेरिकी डलर र नेपालको सरकारको १३ करोड लगानी रहनेछ । यस्तै, ३ सबस्टेसनका लागि ६ करोड ७० लाख डलरसहित ६९ करोड ७० लाख डलर रहनेछ ।

एमसीसी परियोजनाले ३१५ किलोमिटर लामो प्रसारणलाईन निर्माण गर्नेछ । र, यसका लागि १० जिल्लामा १०४ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने छ ।

तर, हालसम्म ९ जिल्लामा मात्रै तथ्यांक संकलन भएको छ भने आवश्यक्ताअनुसारको जग्गा अधिग्रहण समेत भएको छैन । नेपाल सरकार र एमसीसीबीच २०७४ साल भदौमा एमसीसी परियोजना कार्यान्वयन गर्ने सम्झौता भएको थियो ।