एमसीसी कार्यान्वयनमा जान्छ: केपी ओली

१३ भाद्र २०८०, बुधबार १२:०६

काठमाडौ, १३ भदौ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण अब एमसीसी कार्यान्वयनमा जाने दाबी गरेका छन ।

आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन । उनले संसदबाटै पास भइसकेको एमसीसी कार्यान्वयनमा जाने कुरामा कुनै दुविधा नरहेको बताएका छन ।

उनले भने, ‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ, ‘एमसीसी पास गर्नु उपयुक्त हो कि हैन भनेर त्यतिबेलै सोच्नुपर्ने थियो ।’

तर, संसदबाट एमसीसी पास गर्ने बेलामा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई भने उनले झुटको खेस्रो भएको आरोप लगाएका छन ।

उनले भने, ‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो सत्तापक्षले जनतालाई दिएको धोका हो, ‘संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो ।

त्यसलाई एमसीसीले मान्दैन ।’ सत्तापक्षले १२ बुँदे व्याख्यात्मक घोषणा गरेपछि मात्रै संसदबाट एमसीसी अनुमोदन भएको थियो । त्यही घोषणा झुटको खेस्रो र जनतालाई दिएको धोका भन्दै ओलीले व्याख्यात्मक घोषणा एमसीसीले नमान्ने बताएका छन ।