काठमाण्डौ, १२ भदौ– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने भएको दाबी गरेका छन ।
आज (मंगलवार) काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले जनताको अपेक्षा अहिले पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र दाहाल वरपरका नेताहरुले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताएका छन ।
उनले जनतको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने पनि बताएका छन । पुनले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने पनि बताएका छन ।
पुनले देश राजनीतिक सिस्टममा चल्नुपर्ने बताएका छन । राजनीतिक विधिमा पार्टी र निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्ने उनले बताएका छन ।
उनले भने, ‘जनताको अपेक्षा के छ भने आज पनि माओवादीले नेतृत्व गरोस् । आज पनि कमरेड प्रचण्ड र प्रचण्ड वरिपरीका नेताहरु नेतृत्व गरोस् भनेर सोचेका छन् ।
त्यो अपेक्षा छ । त्यो अपेक्षामा अलिकति मात्रै ठेस लाग्ने ठूला प्रश्न उठेका छन् । हामी हाम्रो पार्टीका कमजोरीहरु हेर्दा द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नुपर्छ ।
आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेण्डाहरु वरिपरीबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौं नत्र खत्तम नै भयौँ, सिद्धियौँ की के हो ? भन्दा एकातिर नकारात्मक प्रवृत्ति र कुण्ठा, अराजकता देखापर्ने र अर्कोतिर अरु नै कोही छन् की भन्दा कोही पनि नदेखिने, नेता पनि नदेखिने राजनीति पनि नदेखिने हुँदा एक खालको शुन्यता हुन्छ ।
हामीले भनेको राजनीतिक सिस्टममा देश चल्नुपर्छ । राजनीतिक विधिमा पार्टी चल्नुपर्छ । निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्छ । हामी देशको अग्रगामी रुपान्तरणका पक्षपाती हौँ ।’
