टिपरको ठक्करबाट डाक्टरको मृत्यु

१२ भाद्र २०८०, मंगलवार १४:१०

काठमाण्डौ, १२ भदौ– मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट एक जना डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी घर भएका मोटरसाइकलमा सवार डाक्टर निरज यादव रहेका छन ।

मंगलबार बिहान उर्लाबारी नगरपालिका– ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिदा यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनी प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकलमा पूर्वतर्फ जाँदै थिए । पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका डाक्टर यादवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका छन ।टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो ।

अस्पताल पुर्यासएको केहीबेरमै यादवलाई चिकित्सकले बिहान ६ः ५० बजेतिर मृत घोषित गरेका थिए । टिपर र चालक झापाको मेची नगर नगरपालिका– ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

डाक्टर यादव झापाको कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत रहेका प्रहरीले जानकारी दिएका छन ।

घरबाट काममा जाने क्रममा उनी दुर्घटनामा परेका हुन् । उनी कुन अस्पतालतर्फ जाँदै थिए भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ ।