सुन काण्डमा सत्तापक्षका नेतालाई जोगाएर भरियालाई समाउने काम भयो: एमाले

१२ भाद्र २०८०, मंगलवार १३:०७

काठमाण्डौ, १२ भदौ– प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाएर भरियालाई मात्र समातेको भन्दै आपत्ति व्यक्त गरेको छ ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले सुन काण्डमा सत्तारुढ दलका नेता जोगाएकोमा आपत्ति व्यक्त गरेका छन ।

उनले सरकारले एकातिर सुशासन कायम गर्छौ, भ्रष्टाचारका फाइल खोलेका छौँ भनेर जनतालाई भन्ने र अर्कोतिर व्यवहारमा सत्तापक्षका भ्रष्टाचार नाइकेहरु, नेताहरूलाई जतिसुकै ठुलो अपराध गरे पनि अनुसन्धानको दायरामा नल्याएकोमा आपत्ति व्यक्त गरेका छन ।

उनले भने, ‘सत्तापक्षका माथिल्ला ओहदाका नेताहरूले जतिसुकै अपराध गरे पनि उनीहरूलाई कानुनी दायरामा ल्याइँदैन । त्यस्ताहरूलाई उन्मुक्ति दिने काम भइरहेको छ ।

पछिल्लो समय जुन सुन तस्करी भयो, सुन तस्करीमा संलग्न भएका राजनीतिक तहका सत्तापक्षका नेताहरूलाई बोलाएर सामान्य सोधपुछको दायरामा ल्याउने काम समेत भएन ।

सोधपुछ गर्ने काम भएन । सत्तापक्षको नेता भएपछि जतिसुकै अपराध गर्न पनि छुट हुने, जतिसुकै तस्करी गर्न पनि छुट हुने तर भरियालाई समाएर जेलमा पठाउँदा यो देशमा सुशासन हुन्छ भन्ने कुरा कुनै हालतमा स्वीकार्य छैन ।’

प्रमुख सचेतक गिरीले माछा देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हात भनेझैँ सत्तापक्षका नेताहरू तस्करीमा भेटिए भने उनीहरूलाई छोडिदिनुपर्ने तर सामान्य नागरिक भयो भने उनीहरूलाई जेल पठाउनुपर्ने यही हो लोकतन्त्र भन्दै प्रश्न गरेका छन ।

उनले अहिले भइरहेको सरकारको गतिविधिले विगतमा हासिल गरेका राजनीतिक उपलब्धीहरु पनि गुम्ने खतरामा रहेको बताएका छन् ।