काठमाडौ, ११ भदौ– धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले त्यसको विरोध गर्दै प्रर्दशन गरेका छन ।
पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गरेका छन ।
उनीहरुले धनगढीको शहीद गेटमा प्रदर्शन गर्दै गाडी चल्न बन्द गराएको प्रहरीले जानकारी दिएको छ । चौधरीको उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुले बताएका छन ।
पीडित पक्षको मागबारे अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन ।
शुक्रबार अस्पताल भर्ना भएका चौधरीको बायाँ मिर्गौलामा पत्थरी रहेको भन्दै शल्यक्रिया गरिएको थियो । तर उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । उनको सोमबार विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
