काठमाडौ, ११ भदौ– कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसनका क्रममा मृत्यु भएको छ ।
हिजो (आइतबार) पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव हुँदा डाक्टरले फेरि अप्रेसन गरेर बायाँ मिर्गौला नै झिकिदिएको र उनको मृत्यु भएको चौधरीका आफन्तले जानकारी दिएका छन ।
धनगढीस्थित स्वस्तिक मल्टिस्पिसियालिटी अस्पताल प्रालिमा शुक्रबार भर्ना गरिएका चौधरीको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेका पत्थरी झिक्न अप्रेसन गरिएको थियो ।
दिउँसो ३ बजे अप्रेसन गरिएको बिरामीका भतिजा राजकुमार चौधरीले जानकारी दिएका छन । उनले भने, ‘अप्रेसन सकिएपछि डाक्टरले सुरुमा अप्रेसन राम्रो भो भने ।
झिकेको पत्थरी पनि देखाए । हामी खुसी भयौं,’ ‘करिब एक घन्टापछि भेट्न गयौं । बुबाले पेट दुख्यो भन्नु भो, हामीले डाक्टरलाई भन्यौं, डाक्टरले सुई लगाए । तर निको भएन । पेट फुल्न थाल्यो ।
त्यसपछि हामी आत्तियौं ।’ राजकुमारका अनुसार राति ८ बजेतिर बिरामीलाई धेरै अप्ठेरो भयो । ‘त्यसपछि फेरि डाक्टरलाई जानकारी गरायौं ।
अनि डाक्टरले त किड्नीको नसा काटियो, अत्यधिक रक्तश्राव भयो, अब बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने पो भन्न थाले ।
त्यसपछि बाध्यतावश हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिक्दिनुस्, हामी ज्यान रोज्छौं भन्यौं,’ चौधरीले भने, ‘राति २ बजे किड्नी पनि निकाले । ल ज्यान दिएँ भने ।’
तर फेरि आइतबार बिहान अस्पताल प्रशासनका व्यक्तिहरुले बिरामीको अवस्था क्रिटिकल छ भन्न थाले । बिरामीलाई आईसियुमै राखिएको थियो ।
‘हामी भेट्न गयौं । उहाँको त श्वास मात्रै बाँकी थियो,’ चौधरीले भने, ‘दिउँसो २ बजे त डाक्टरले अब बचाउन सकिँदैन भन्न थाले ।’
चौधरीका अनुसार त्यसै क्रममा आइतबार राति अस्पतालका अध्यक्ष महेश जोशीले ‘बिरामीको मृत्यु भइसक्यो, कति पैसा चाहिन्छ लिनुस्, हल्ला नगरिदिनु होला, लैजानुस् भन्न थाले ।
’ अस्पतालका अध्यक्ष जोशीले अप्रेसनका क्रममा अत्यधिक रक्तश्राव भएको र बायाँ मिर्गौला झिक्नु परेको जानकारी गराएका थिए । ‘बिरामीको मृत्यु भइसक्यो, हामीले आफन्तलाई पनि भनिसक्यौं,’ जोशीले भने ।
बिरामीका आफन्तका अनुसार ४ छोरी २ छोरा रहेका चौधरीलाई पेट दुख्ने समस्या पनि थिएन सुरुमा । घरको सिँढीबाट लडेर चोट लागेपछि उपचारका लागि धनगढी ल्याइएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा मिर्गौलामा पत्थरी रहेको थाहा भएको भतिजा राजकुमार चौधरीले जानकारी दिएका छन । उनले भने, ‘अस्पतालमा एक लाखमा पत्थरीको अप्रेसनको कुरा भएको थियो ।’
