‘दुई कदम’ २९ मंसिरमा प्रदर्शन हुने

११ भाद्र २०८०, सोमबार १२:३०

काठमाडौंँ, ११ भदै– उदय सुब्बाको निर्देशनमा बनेको फिल्म ‘दुई कदम’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मका दुई पोष्टर फष्टलुक्सका रुपमा सार्वजनिक गरेको हो । पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि २९ मंसिर तोकिएको छ ।

फिल्मको फष्टलुक्समा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीलाई छाता ओढेर रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । दोस्रो पोस्टरमा अभिनेता गौरव पहारी रिसाएर हातमा बन्दुक लिदा डेव्यु अभिनेत्री गिरी निकै डराएको हाउभाउमा देखिएकी छन् । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ ।

फिल्ममा गौरव, इओन र सिमोनका अलवा सुनील थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भूमिकामा देखिन्छन् ।

मुस्ताङमा एक गीतको सुटिङ गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।