काठमाडौँ, १० भदौ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सधै स्वागत गर्ने बताएका छन ।
उनले भण्डारीलाई पार्टीमा कसैले निषेध नगरेको बताउँदै आउन चाहे सधैं स्वागत गर्ने बताएका छन । आज आइतबार एमाले एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन ।
उनले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने पनि बताएका छन । उनले भने, ‘उहाँले राजनीति गर्छु भन्दा कसले रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं, ‘उहाँलाई हामी निषेध गर्दैनौँ ।
उहाँ आउँछु त भन्नुपर्योउ, सधैं वेलकम छ ।’ ओलीले पार्टीका नेताले भण्डारीलाई भेटेका विषयमा अनावश्यक हल्ला चलाउन नहुने बताएका छन ।
उनले भण्डारी पार्टीको पूर्वउपाध्यक्ष समेत भएका कारण भेट्न मिल्ने बताएका छन । पूर्वराष्ट्रपति भएका भण्डारी पार्टीको आदरणीय व्यक्ति पनि रहेको बताउँदै उनले भने, ‘हाम्रो पार्टीको पूर्वउपाध्यक्ष हो ।
हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो । हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन ।’ उनले कोशी प्रदेशमा सत्तारुढ दलहरुले फोहरी खेल खेलेको आरोप लगाएका छन ।
उनले प्रदेशमा सत्तारुढ गठबन्धन संविधान विरोधी भएको बताएका छन । उनले भने, ‘यसरी संविधान मिचिँदा, हामीले संविधान नमिच्दापनि संविधान मिच्यो भनेर विरोध गर्नेहरु अहिले यसरी संविधान मिच्दा चुपचाप लाग्ने केही भएकै छैन भने जस्तो गर्ने प्रवृत्ति देखिएको छ।’
