काठमाडौँ, १० भदौ– अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन ।
आज (आइतबार) विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले यस्तो बताएका हुन ।
उनले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसङ्ख्याको लागि पानीको स्रोत नेपाल रहेको विषयबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन ।
उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावर तथा प्रजातीको संरक्षण गरेको र सोको नतिजास्वरुप बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताएका छन ।
उनले वन तथा वन्यजन्य सम्पदा नेपालका लागि मात्र नभइ विश्व मानव समुदायकै साझा सम्पदाको रुपमा रहेको बताएका छन ।
उनले यी प्रयासका बाबजुत जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औँ उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनमा बाढीपहिरो अतिवृष्टि सुख्खा साथै हिमताल विस्फोटको जोखिमसमेत बढेको पनि बताएका छन ।
उनले नेपालको तापक्रम सन् २०३० सम्ममा शून्य दशमलब पाँचदेखि दुई डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर तथा प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको बताएका छन ।
उनले जबसम्म एकीकृत र समुच्च रुपमा कार्यक्रम कार्यान्वयन गरिदैँन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने बताएका छन ।
उनले जलवायु परिवर्तन जोखिम उच्च भएका देशकोसमेत प्रतिनिधित्व गर्दै मन्त्री डा।महतले लगानी आयोजनाको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमामा सकारात्मक परिवर्तन ल्याउने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन ।
सो अवसरमा उनले वातावरणीय कोषका कार्यक्रम राष्ट्रिय प्रणालीमार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आयोजनामा ठोस् तथा पहिचानयुक्त क्रियाकलाप समावेश गर्न र आयोजनाका मुख्य क्रियाकलापमा लगानी केन्द्रित गर्नु पर्ने बताएका छन ।
यसैगरी उनले जलवायु परिवर्तनको बहुआयामिक असरलाई सम्बोधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको बताएका छन ।
