धरानमा गाई काटेर भोज गर्नेलाई पक्राउ गरेर मुद्दा चलाउने तयारी

१० भाद्र २०८०, आईतवार १६:५४


काठमाडौँ, १० भदौ– धरानमा गाई–गोरु काटेर सामुहिक भोज गर्नेहरुलाई पक्राउ गरेर मुद्दा चलाउने तयारी गरीएको छ ।

सामाजिक सञ्जालमा गाई गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पु¥याएको प्रहरीले जानकारी दिएको छ ।

अनुशन्धान सकिएपछि उनीहरुलाई पक्राउ गरेर मुद्दा चलाईने सुनसरीकी सिडिओ हुमकला पाण्डेले जानकारी दिएकी छन्। गाइगोरु काटेर पक्राउ परेका दुई व्यक्ति रिहाइ भएको उपलक्ष्यमा भन्दै धरानमा भोज गरिएको थियो ।

उक्त भोजको भिडिओ युट्युबमा अपलोड भएपछि विवाद सुरु भएको थियो। भोजमा सुनसरी पत्रकार महासंघका अध्यक्षसमेत रहेका अभियन्ता जनकऋषी राईसमेतको संलग्नता रहेका छन ।

गाइगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडिओमा देखिएका केही ब्यक्ति भने अपरिचित छन्। सीअीओ पाण्डेले धरौटीमा छुटेका दुई जनालाई अदालतमा मुद्दा दायर गर्न लागिएको जानकारी दिएकी छन ।

भिडियोमा देखिएकाहरू गाई गोरुको मासु नै खाएका हुन् वा यत्तिकै प्रपोगण्डा गरेका हुन् भन्ने अनुसन्धान गर्न केही समय लागेको उनले बताएकी छन ।

भिडियो हाल्ने, सेयर गर्ने तथा सामाजिक सञ्जालबाट आपत्तिजनक टिप्पणी गर्नेहरु पनि छानबिनमा तानिने उनले जानकारी दिएकी छन ।

नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ । संविधानमा गाइगोरु काट्नेहरूमाथि ३ वर्षसम्मको जेल सजायको व्यवस्था गरीएको छ ।

तर, खुलेआम गाइगोरु काटेर सामाजिक सञ्जालमा प्रचारप्रसार समेत गर्नेहरूमाथि कारबाही नगरेको भनेर सरकार र प्रशासनको पछिल्लो समय व्यापक आलोचना भइरहेको छ ।