चाँगुनारायण नगरपालिकाका अस्पताल सहित२० घर पहिरोको जोखिममा

१० भाद्र २०८०, आईतवार १६:१९

भक्तपुर, १० भदौ– केहीदिनदेखि अविरल परेको वर्षाका कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा परेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।

उनका अनुसार चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापका राजेन्द्र थापा, शुली पराजुली, रमेश पराजुली, अच्युत पराजुलीका घर पहिरोको उच्च जोखिममा परेका छन् । ताथली हनुमान चोकका तीन घर र ताथली सौडोलको गिरीटोलका छ घर पहिरोको उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ । ताथली सौडोलकै देवी उच्च माध्यमिक विद्यालय पनि पोहिरोको जोखिममा परेको प्रमुख खत्रीको भनाइ छ ।

पहिरोको जोखिममा परेका घर संरक्षणका लागि नगरपालिकाले टोलीनै खटाएको उनले बताए । “नगर क्षेत्रमा पहिरोको जोखिममा परेका घरको विवरण सङ्कलन भइरहेको र स्थानीय तहबाट सूचना प्राप्त हुनासाथ नगरपालिकाले प्राविधिकसहितको विपद् व्यवस्थापन टोली खटाउने काम भइरहेको छ”, प्रमुख खत्रीले भने ।